
दाङ,मङ्सिर १३ । दाङमा एक पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको दुर्घटनामा मृत्यु भएको पुष्टि गरिएको छ।
घोराही–तुलसीपुर सडकखण्डको घोराही–१० स्थित पशुपति बोर्डिङ नजिक शुक्रबार साँझ करिब ६ बजे घटना भएको हो। तुलसीपुरबाट घोराहीतर्फ आइरहेको लु १ ज ६२५८ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको रा २ प ११५६ नम्बरको मोटरसाइकलमा ठक्कर हानेपछि गम्भीर घाइते भएका केसीले ज्यान गुमाएका हुन्।
दुर्घटनामा संलग्न पिकअप र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

