
दाङ, मंसिर १
जेन्जी दाङले भदौ २३ र २४ गते देशभर भएको आन्दोलनको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै देश, जनता र जन–आन्दोलनका मूल्य–मान्यता संरक्षणमा राजनीतिक दलहरूको भूमिकालाई पुनः समीक्षा गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा २०४७को जनआन्दोलन, २००७ सालको क्रान्ति र २०६२/ ६३ को ऐतिहासिक आन्दोलनहरूले परिवर्तनको बाटो निर्माण गरेको स्मरण गर्दै पछिल्ला वर्षहरूमा रहेका राजनीतिक अस्थिरता, राज्य जिम्मेवारीप्रतिको उदासीनता र जनताका मुद्दा उपेक्षित बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
जेन्जी दाङका अध्यक्ष विजय के.सी.ले जारी गरेको विज्ञप्तिमा “राजनीतिक दल र नेतृत्वले निरन्तर जन–आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने कार्य बन्द गर्नुपर्छ,” भन्दै समाजका सबै सचेत नागरिक, दलहरू, नेतृत्व र सरोकारवाला निकायलाई आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरिएको छ।
उनले इतिहासले सँगालेको जन–आन्दोलनको मूल्य र विरासतलाई कमजोर पार्ने, बदनाम गर्ने तथा जन–आन्दोलनलाई नै विवादित बनाउने प्रयासप्रति असन्तोष व्यक्त गर्दै वर्तमान राजनीतिक नेतृत्वले आत्म–परीक्षण गर्दै जनगुनासो सम्बोधनमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा राजनीतिक दलहरूले जनताको विश्वास पुनः प्राप्त गर्न पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई मजबुत रूपमा लागू गर्नुपर्ने निष्कर्ष समेत प्रस्तुत गरिएको छ।
