
सल्यान — नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागको आयोजना, राप्ती साहित्य परिषद् सल्यानको सहआयोजना र बागचौर नगरपालिकाको सहयोगमा मंसिर १३ गते बागचौरमा पहिलो पटक ‘प्रज्ञा–नारी काव्य संगोष्ठी’ सम्पन्न भएको छ।
कार्यक्रम परिषद् सल्यानका अध्यक्ष इन्द्र भण्डारी ‘अङ्कित’को अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो। बागचौर नगरपालिका प्रमुख जनकराज गौतम मुख्य अतिथि र उपप्रमुख सुम्मिमा डी.सी. ओली विशिष्ट अतिथि रहेका थिए ।
कवितामार्फत कर्णालीका नारी आवाज झल्कियो
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका नारी स्रष्टाहरूले आफ्ना काव्यकृति वाचन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। कालिकोट, जाजरकोट, सुर्खेत, हुम्ला, रुकुम पश्चिम र सल्यानका प्रतिनिधिमूलक साहित्यकारहरूले कविता प्रस्तुत गरेका थिए।
राष्ट्रियता आचार्य, सावित्री सोती, जयन्ता सुधा, कल्पना विश्वकर्मा, लिला ढकाल, सीता यरी, प्रेरणा सेर्पाइली, सिर्जना खत्री, जयन्ती पाल, लुना चौलागाईं, सीता बुढा, सिजन बाँठामगर, कल्पना पलक, यामकला डाँगी, लिला शर्मा, विनु बुढाथोकी र शोभाकुमारी ज्ञवाली कार्यक्रमका प्रमुख प्रस्तुतकर्ता रहे।


‘काव्यमा कर्णालीका नारी हस्ताक्षर’ कार्यपत्र प्रस्तुत
संगोष्ठीमा भाषा आयोग नेपालकी पूर्वसदस्य उषा हमालले तयार पारेको ‘काव्यमा कर्णालीका नारी हस्ताक्षर’ विषयक कार्यपत्र कार्यक्रम प्रमुख सन्ध्या पहाडीले प्रस्तुत गरिन्। कार्यपत्रमाथि टिप्पणी सुर्खेतकी कोकिला सिंह ठकुरीले दिइन।
पञ्चैबाजा र परिक्रमा सहित कार्यक्रमको सुरुवात
कार्यक्रम सुरु हुनुअघि नेपाली पोशाकमा सजिएका पञ्चकन्या र स्थानीय आमा समूहका दिदीबहिनीहरू पञ्चैबाजा सहित नगर परिक्रमा निकालिएको थियो, जसले बागचौरको माहोललाई उत्सवमय बनाएको थियो।
सहजीकरण र स्वागत
राप्ती साहित्य परिषद् सल्यानका सचिव नोखिराम थापाले स्वागत मन्तव्य दिएका थिए भने सहजीकरण उपाध्यक्ष तारादेवी शर्मा ‘प्रदर्शन’ले गरेकी थिइन्।
