
तुलसीपुर — लुम्बिनी प्रदेश सरकारका नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको अवस्थाबारे तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ दाङको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले लक्षित वर्गसम्म सरकारी योजना प्रभावकारी रूपमा पुग्न नसकेको विषय उठाएका छन्।
कार्यक्रममा प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसीले प्रदेशमा दलित, महिला तथा सिमान्तकृत समुदायको वर्तमान अवस्था, नीति तथा योजनाबारे प्रस्तुति राख्नुभएको थियो। उहाँले समावेशी विकासका लागि लक्षित वर्गको वास्तविक आवश्यकता अनुसार कार्यक्रम निर्माण र कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो।

तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले प्रदेश सरकारले ल्याएका कतिपय योजना र कार्यक्रम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो गर्नुभयो। विशेषगरी दलित समुदायका बालबालिकाका लागि ल्याइएको छात्रवृत्ति कार्यक्रम सबैमा नपुगेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
दलित अधिकारकर्मी जोगेन्द्र विश्वकर्माले लामो समयदेखि दलित अधिकारका सवालमा आवाज उठाउँदै आएको उल्लेख गर्दै निरन्तर प्रयासले परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा दलित महिला सञ्जाल लुम्बिनी प्रदेशकी अध्यक्ष निर्मला सुनारले वर्तमान सरकारले दलित सम्बन्धी ऐन खारेज गर्न सक्ने आशंका व्यक्त गर्दै चिन्ता जनाउनुभयो। साथै वडासदस्य सम्बन्धी व्यवस्थामा पनि परिवर्तन हुने हल्लाले दलित समुदाय अवसरबाट वञ्चित हुन सक्ने उहाँको भनाइ थियो।
लुम्बिनी प्रदेशसभा सदस्य लोका कुमारी विश्वकर्माले निर्णय प्रक्रियामा दलित समुदायको उपस्थिति अझै कमजोर रहेको बताउनुभयो। अर्की प्रदेशसभा सदस्य सुसिला बादीले आफूहरू प्रदेशसभा सदस्य भए पनि सरकारमा सहभागी हुन नपाएको गुनासो गर्दै यसले बजेट निर्माण लगायतका प्रक्रियामा दलित सहभागिता सीमित भएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सामाजिक विकास समितिका संयोजक यमबहादुर नेपालीले कार्यक्रम तथा योजना अनुसार बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रदेश सरकारले दलितसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र हाल दफावार छलफलको चरणमा रहेको जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न जनप्रतिनिधि, अधिकारकर्मी तथा सरोकारवालाहरूले दलित तथा महिला लक्षित कार्यक्रमहरूलाई प्रभावकारी र पहुँचयुक्त बनाउन सरकारसँग माग गरेका छन्।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा दलित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।b
