
दाङ चैत्र २२ । दाङको तुलसीपुर–६, शिवशक्ति टोल पूर्वी रजौरामा सञ्चालन भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञप्रति भक्तजनको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। मंगलबारदेखि सुरु भएको महायज्ञ छैटौँ दिनसम्म आइपुग्दा उल्लेखनीय भीड देखिएको आयोजकले जनाएको छ।
शिवशक्ति टोल विकास संस्था र शिवशक्ति पशुपतिनाथ मन्दिरको संयुक्त आयोजनामा भइरहेको महायज्ञमा दैनिक रूपमा श्रद्धालुहरूको सहभागिता बढ्दै जाँदा वातावरण थप धार्मिक र उत्साहपूर्ण बनेको छ।

महायज्ञ व्यवस्थापक तिलकराम शर्माका अनुसार पाँचौँ र छैटौँ दिनमा मात्रै ४ लाख ६३ हजार १४३ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ। यसले कार्यक्रमप्रति स्थानीयवासीको आस्था र समर्थन बढ्दै गएको देखाउँछ।
चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथावाचक पण्डित चन्द्रकान्त काफ्ले र उपवाचक पण्डित रोहित सुवेदीले प्रवचन दिँदै भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गरिरहनुभएको छ।
मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार निर्माण तथा समग्र विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। कार्यक्रममा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, समाजसेवी गोविन्द रजौरे लगायत ३ सयभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण डिल्लीराज रेग्मीले गर्नुभएको थियो।
