
बसन्त शर्मा
सल्यान ३, असोज
सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले सुशासन प्रवद्र्धन, नागरिकको सेवा र समृद्धिका लागि समर्पित रहने प्रतिबद्धता जनाउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले दिएको अधिकार, दायित्व र कर्तव्यलाई स्मरण गर्दै पालिका, समाज, देशको विकास र समृद्धिको यात्रामा एकजुट भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको हो । खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य, शिक्षा, पर्यटन, सामाजिक जागरण लगाएतका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै अध्यक्ष बुढाथोकीले विकासको मूल बाटोमा साना प्रयासहरू नै दिगो परिवर्तनको जग भएको भन्दै सबैको साझा प्रयासले मात्र छत्रेश्वरी गाउँपालिकालाई विकास र समृद्धिको शिखरमा पुर्याउन सक्ने धारणा व्यक्त गर्नुभएको हो ।
सबै एकताबद्ध भई, समृद्ध, समुन्नत र दिगो विकासमा अग्रसर छत्रेश्वरीको निर्माणमा हातेमालो गर्न अपिल गर्दै अध्यक्ष बुढाथोकीले नेपालको संविधान जारी भएर नौ वर्ष पुरा भएको यस ऐतिहासिक अवसरमा उनले सम्पूर्ण गाउँपालिकाबासी तथा स्वदेश एवम् विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदिवहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापनाका लागि पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्नुभएको छ ।
