
दाङ, वैशाख ५ । दाङको देउखुरीमा बा ३ ख ७९९६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना आज दिउँसो लमही–भालुवाङ सडक खण्डको सिंगे खोलानजिक भएको हो। मृत्यु हुनेमा राजपुर गाउँपालिका–६ निवासी ५७ वर्षीय निल सरोज यादव रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। अर्की मृतक महिला रहेकी छन् तर उनको परिचय खुल्न सकेको छैन। दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन्। जसमध्ये केहिको अवस्था गम्भीर रहेको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। केहिलाइ सामान्य चोटपटक लागेकाले उपचार पछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा परेको बा ३ ख ७९९६ नम्बरको यात्रुबाहक बस कृष्णनगरबाट घोराहीतर्फ आइरहेको थियो।
बस तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडक छेउको पर्खालमा ठोक्किएर पल्टिएको हो। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्दार कार्य अघि बढाइएको थियो।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। तर, चालकको लापरवाही वा ब्रेक फेल भएको हुनसक्ने आशंका गरिएको छ। घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार भइरहेकाले मृतक संख्या अझै बढ्न सक्ने सम्भावना प्रहरीले जनाएको छ।
