
दाङ, तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–८ स्थित कृष्ण मन्दिरको जग्गा अतिक्रमण भएको तथा मन्दिर व्यवस्थापनमा अनियमितता भएको जनगुनासो बढेपछि स्वतन्त्र डिजिटल पत्रकार संघले मन्दिर व्यवस्थापन पक्षलाई ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापनपत्र मन्दिर व्यवस्थापन समितिका सचिव भूपबहादुर केसीलाई बुझाइएको हो।
ज्ञापनपत्रमार्फत संघले मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरी प्रयोग गरिएको विषयमा स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेको छ। साथै, सप्ताह, पूजाआजा तथा विभिन्न पर्व–मेलाबाट संकलित आम्दानीको पारदर्शी विवरण हालसम्म सार्वजनिक नगरिएको भन्दै त्यसबारे पनि स्पष्ट पार्न आग्रह गरिएको छ।

स्वतन्त्र डिजिटल पत्रकार सङ्घका अध्यक्ष शंकर भुसाल सहितको टिमले मन्दिरभित्र देखिएको व्यथिति र आर्थिक क्रियाकलापबारे जनतामाझ यथार्थ सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ। साथै, मन्दिरको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भए–नभएको र भए त्यसको फिर्ता प्रक्रियाबारे आधिकारिक धारणा सार्वजनिक गर्न मन्दिर व्यवस्थापनसँग माग गरिएको छ।
स्थानीयस्तरमा उठिरहेका यी गम्भीर प्रश्नहरूको पारदर्शी समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक रहेको संघले जनाएको छ।
