
दाङ, जेठ २५ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित मिड–वेस्ट प्वाइन्ट एकेडेमी मा राष्ट्रिय सेवा दल (NCC) अन्तर्गत जुनियर डिभिजन तालिमको उद्घाटन गरिएको छ।
नेपाली सेनाको ज्वालादल गण, भरतपुर ब्यारेक दाङ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिम विद्यालयमा आयोजित एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। तालिममा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध कुमार डाँगी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको ज्वालादल गण, भरतपुर ब्यारेक दाङका प्रमुख सेनानी दीपक बुढाथोकी प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिका–५ का वडा अध्यक्ष ओपेन्द्र राउत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख सेनानी बुढाथोकीले राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, आत्मविश्वास तथा जिम्मेवारीबोधको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता तालिमले युवापुस्तालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा देशप्रतिको समर्पण भावनाले प्रेरित गर्ने उल्लेख गर्नुभयो।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध कुमार डाँगीले एनसीसी तालिम विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि अत्यन्त प्रभावकारी कार्यक्रम भएको बताउनुभयो। उहाँले एनसीसीले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, समय व्यवस्थापन तथा समूहमा काम गर्ने सीपको विकास गर्ने उल्लेख गर्दै राष्ट्रप्रेम, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो। यस्ता तालिमले विद्यार्थीहरूलाई भविष्यका सक्षम, जिम्मेवार र नेतृत्वदायी नागरिकका रूपमा तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले तालिममा सहभागी विद्यार्थीहरूलाई सिकाइका अवसरको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो।
विद्यालयका प्रिन्सिपल वीरबहादुर घर्ती ले मिड–वेस्ट प्वाइन्ट एकेडेमी पश्चिम दाङकै एक नमुना विद्यालयका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन तथा नेतृत्व क्षमतामा विशेष जोड दिँदै आएको जानकारी दिनुभयो। राष्ट्रिय सेवा दलको तालिम यसअघि पनि विद्यालयमा सफलतापूर्वक सञ्चालन गरिएको स्मरण गर्दै पुनः यस्तो अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले एनसीसी तालिमले विद्यार्थीहरूमा राष्ट्रप्रेम, आत्मविश्वास र जिम्मेवारीबोधको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नेपाली सेनाको ज्वालादल गणप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिम अवधिभर सहभागी विद्यार्थीहरूलाई शारीरिक अभ्यास, अनुशासन, नेतृत्व विकास, समूह कार्य, प्राथमिक उपचार, विपद् व्यवस्थापन तथा राष्ट्रसेवासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने र अनुशासित, सक्षम तथा जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
