
दाङ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङको आयोजनामा तीज विशेष जिल्ला स्तरीय नृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
नेसनल प्याब्सन दाङका अध्यक्ष शालिग्राम कार्कीको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र संस्कारसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सचेत गराउँदै उनीहरूमा रहेको प्रतिभालाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रतियोगिता केवल प्रतिस्पर्धाका लागि मात्र नभई विद्यार्थीको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र सिर्जनात्मक क्षमताको विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै सहभागी सबै विद्यालय तथा विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो।
तीज पर्वको मौलिक संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा दाङ जिल्लाका विभिन्न निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको नेसनल प्याब्सन दाङका सचिव छवि कुमार वलीले जानकारी दिनुभयो।
प्रतियोगितामा ज्ञान ज्योति स्कुल, तुलसीपुर प्रथम हुन सफल भएको छ। त्यस्तै सिखा बोर्डिङ स्कुल द्वितीय, मिड वेस्ट एकेडेमी तृतीय र सगरमाथा बोर्डिङ स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सहभागी विद्यार्थीहरूले तीजका मौलिक गीत तथा नृत्यमार्फत नेपाली कला, संस्कृति र परम्परालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेसनल प्याब्सन नगर अध्यक्ष सुमन के.सी. र नेसनल प्याब्सन दाङका उपाध्यक्ष शरद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेसनल प्याब्सन दाङका सचिव छवि कुमार वलीले गर्नुभएको थियो।
प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, आत्मविश्वास, प्रस्तुति कला र सांस्कृतिक चेतनाको विकासमा योगदान पुर्याएको आयोजकको भनाइ छ। साथै, यस्ता कार्यक्रमले नयाँ पुस्तालाई नेपाली मौलिक कला, संस्कृति र परम्परासँग जोड्दै विद्यार्थीभित्र रहेको प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
