
दाङ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) दाङको ७औँ जिल्ला अधिवेशनले हरिप्रसाद भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मानबहादुर डाँगी, उपाध्यक्षमा लोकराज भुसाल, सचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा एकराज बोहरा, सहसचिवमा रोमहर्ष शर्मा र सहकोषाध्यक्षमा ताराबहादुर केसी चयन हुनुभएको छ। सदस्यमा ओमप्रकाश न्यौपाने, मुकुन्द गिरी र अञ्जना खड्का चयन हुनुभएको छ।
अधिवेशनलाई सम्बोधन गर्दै नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काले संगठनमा टुटफुट भएर संस्था कमजोर भएको भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो। उहाँले संगठनलाई बलियो बनाउन सबै जिम्मेवार भएर सक्रिय हुनुपर्ने बताउनुभयो।
महासचिव खड्काले शिक्षा र स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने तथा लामो समयदेखि आउन नसकेको शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसमेत गर्नुभयो।
कार्यक्रममा नेशनल प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयप्रति राज्यले विभेद गरेको आरोप लगाउँदै निजी शिक्षामा भएको ठूलो लगानीको उचित मूल्यांकन हुनुपर्ने बताउनुभयो।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव वलीले संगठनभित्रको एकता बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
अधिवेशनका क्रममा सञ्चार क्षेत्रबाट पत्रकार आशिष् केसीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
