
दाङ । बबई गाउँपालिका–५ हापुरे बजारमा तिजको दिन भएको कुटपिटको घटना केही घण्टामै खुकुरी प्रहारसम्म पुगेको छ। घटनामा एक युवक गम्भीर घाइते भएका छन्।
मंगलबार दिउँसो कपर चिम्नी होटल अगाडि तुलसीपुर–५ प्रगति टोलका २१ वर्षीय दीपक डाँगीलाई बबई–४ का १८ वर्षीय रोहित बुढासहित ६/७ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट डाँगीको मुख र हातमा चोट लागेको थियो।
घटनापछि प्रहरी टोली हापुरे पुगे पनि कुटपिटमा संलग्न भनिएका व्यक्तिहरू फरार भएका थिए।
त्यसको केही घण्टापछि बुधबार राति करिब १२ः३० बजे बबई–५ ट्वाङ खोला झोलुङ्गे पुलनजिकै अर्को गम्भीर घटना भयो। प्रहरीले उक्त घटना अघिल्लो कुटपिटसँग सम्बन्धित हुनसक्ने जनाएको छ।
प्रहरीका अनुसार हापुरे निवासी हिरा बुढाका छोरा २०/२१ वर्षीय पुष्कर बुढामाथि दीपक डाँगीसहित नाम–वतन नखुलेका व्यक्तिहरूले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट पुष्करको बायाँ हातको बुढीऔँला बाहेक हातको पञ्जा काटिएको छ भने घाँटीमा समेत चोट लागेको छ। गम्भीर घाइते पुष्करको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
तिजको दिन सुरु भएको कुटपिट केही घण्टामै खुकुरी प्रहारसम्म पुगेपछि हापुरेमा सुरक्षा र युवाबीच बढ्दो हिंसात्मक प्रवृत्तिमाथि प्रश्न उठेको छ।
खुकुरी प्रहारमा संलग्न भनिएका व्यक्तिहरू फरार रहेको र प्रहरीले खोजी गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
