
दाङको तुलसीपुर–६ मा रहेको राप्ती विद्या मन्दिरमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई सम्मानसहित विदाई गरिएको छ। कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा विद्यालय परिसरमै सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई खादा र सम्मानपत्र प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिएका थिए। सम्मान तथा विदाई कार्यक्रम भावुक वातावरणबीच सम्पन्न भएको थियो।
विद्यालयबाट विदा हुँदै गर्दा कक्षा १० की छात्रा तुलसा बस्नेतले आफूले अध्ययन गरेको विद्यालयप्रति सदैव सम्मान र माया रहने बताइन्। जहाँ गएर उच्च शिक्षा हासिल गरे पनि राप्ती विद्या मन्दिरले दिएको शिक्षा, माया र मार्गदर्शनलाई कहिल्यै नबिर्सने उनको भनाइ थियो। उनले विद्यालयले प्रदान गरेको ज्ञान र प्रेरणाले भविष्यको यात्रामा ठूलो हौसला दिएको उल्लेख गरिन्।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य हेम सागर सुवेदीले विद्यार्थीहरूलाई सकारात्मक सोच, अनुशासन र कडा मेहनतलाई जीवनको आधार बनाएर अघि बढ्न सुझाव दिए। उनले विद्यालयमा सिकेको ज्ञान, सीप र संस्कारलाई जीवनभर आत्मसात गर्न र जहाँ पुगे पनि विद्यालयको प्रतिष्ठा जोगाइराख्न आग्रह गरे।
सहायक प्राचार्य चुर्णबहादुर केसीले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई जीवनलाई सही दिशामा डोर्याउने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निरन्तर अध्ययन र लगनशीलतामा जोड दिए।
त्यसैगरी वरिष्ठ शिक्षिका उषा डाँगीले विद्यार्थीहरूलाई अनुशासन, इमान्दारिता र जिम्मेवारीका साथ जीवनमा अघि बढ्न प्रेरणा दिइन्। शिक्षिका दिलमाया केसीले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्दै समाज र राष्ट्रका लागि उपयोगी नागरिक बन्न आग्रह गरिन्।
विद्यालयका लेखापाल लीलाराज न्यौपानेले पनि विद्यार्थीहरूलाई आफ्नो लक्ष्य स्पष्ट बनाएर निरन्तर मेहनत गर्न सुझाव दिएका थिए।
कक्षा ९ की छात्रा बिपिका भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम आदित्य सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण विद्यार्थी निमा डाँगी र सुस्मिता बुढामगरले गरेका थिए।
सम्मान कार्यक्रमसँगै विभिन्न सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदानले कार्यक्रमलाई अझ आकर्षक र सम्झनायोग्य बनाएको विद्यालयले जनाएको छ।
