
तुलसीपुर, दाङ — तुलसीपुरमा Inspire U Academy को नयाँ शाखा भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटनअघि दाङका महिला समूहहरूले पञ्चेबाजासहित बजार परिक्रमा गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।
सोही अवसरमा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल ले एकेडेमीको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै उनले एकेडेमीले विपन्न, गरिब तथा अल्पसंख्यक समुदायका लागि ३५ प्रतिशत छुटको व्यवस्था गरेकोप्रति खुसी व्यक्त गरे। “दुःखी र गरिबलाई सहयोग गर्ने कुरा भाषणमा मात्र सीमित हुनुहुँदैन, व्यवहारमै देखिनुपर्छ,” उनले भने, “यस्तो पहलले समाजमा सकारात्मक सन्देश दिन्छ।”
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँगै विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तुलसीपुरमा सीपमूलक शिक्षामा केन्द्रित यस्तो संस्था स्थापना हुनु स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएका थिए।

एकेडेमीका प्रबन्ध निर्देशक बलभद्र ओली का अनुसार यहाँ बारिस्ता, बेकरी, सुशी, बर्गर, पिज्जा लगायतका आधुनिक तथा व्यावहारिक सीपमूलक कोर्स सञ्चालन गरिनेछ। उनले गरिब, अशक्त तथा अल्पसंख्यक समुदायका लागि निःशुल्क तालिमको व्यवस्था गरिएको जानकारी दिँदै तालिम अवधिभर अंग्रेजी भाषा पनि निःशुल्क सिकाइने बताए।
निःशुल्क कोर्समा सहभागी हुन इच्छुक व्यक्तिहरूले सम्बन्धित वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे।

त्यसैगरी, एकेडेमीका मिडिया कोर्डिनेटर जय ओली ले थप जानकारीका लागि तुलसीपुरको बाहिनीचोकस्थित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
कार्यक्रमको सञ्चालन स्वतन्त्र डिजिटल पत्रकार सङ्घ दाङका अध्यक्ष शंकर भुसाल ले गरेका थिए।
