
विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउन तथा सुरक्षित समाज निर्माणमा सबैको भूमिका आवश्यक रहेको सन्देश दिइएको थियो। सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालाका अनुसार समुदायलाई सचेत बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।
सचेतनामूलक कार्यक्रममा लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी, कानुनी व्यवस्था तथा यसको दुष्प्रभावबारे विस्तृत जानकारी गराइएको थियो। सशस्त्र प्रहरीका प्रतिनिधिहरूले लागुऔषध प्रयोगले व्यक्तिको स्वास्थ्य, पारिवारिक अवस्था र समग्र समाजमा पार्ने गम्भीर नकारात्मक असरबारे प्रस्ट पारे।
कार्यक्रममा सहभागी सीमा क्षेत्रका स्थानीयवासीहरूले पछिल्लो समय युवापुस्तामा बढ्दै गएको लागुऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै यस्ता अभियानले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले समुदाय र प्रहरीबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसअघि पनि मिल्स माध्यमिक विद्यालय लगायतका विभिन्न शैक्षिक संस्थामा यस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
