
तुलसीपुर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यालय परिसरमा दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
नेपाल सरकारले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै देशव्यापी रूपमा शोक मनाउने तथा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेपछि विद्यालयले पनि उक्त निर्णयप्रति ऐक्यबद्धता जनाउँदै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।

विद्यालय प्राङ्गणमा नेपालको नक्सा निर्माण गरी त्यसैभित्र ‘भावपूर्ण श्रद्धाञ्जली’ लेखिएको थियो। सोही नक्साभित्र दीप प्रज्वलन गर्दै बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
भोटेकोशीमा आएको बाढीले मानवीय क्षतिसँगै घर, बस्ती तथा विभिन्न भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। आफन्त गुमाएका परिवार शोकमा रहेका बेला प्रभावित नागरिकहरूले समेत कठिन परिस्थितिको सामना गरिरहेका छन्। यही दुःखको घडीमा मृतकप्रति सम्मान र पीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गर्न विद्यालयले दीप प्रज्वलन गरेको जनाएको छ।
विद्यालयका प्रिन्सिपल शिवपुणकाका अनुसार विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्नु मानवीय दायित्व भएकाले विद्यालय परिवारले सामूहिक रूपमा मृतकहरूको सम्झना गर्दै दीप प्रज्वलन गरेको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष शुक्रराज भण्डारी तथा प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीको समेत उपस्थिति रहेको थियो। विद्यालय परिवारका सदस्यहरूको सहभागितामा गरिएको दीप प्रज्वलनले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति सम्मानसँगै शोकाकुल परिवार र बाढी प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
नेपालको नक्साभित्र प्रज्वलित दीप र **‘भावपूर्ण श्रद्धाञ्जली’**को सन्देशले विपत्तिमा परेका नागरिकप्रति संवेदनशील बन्न, दुःखको घडीमा पीडित परिवारसँग उभिन र मानवीय एकता कायम राख्नुपर्ने सन्देशसमेत दिएको छ।
