
तुलसीपुर — किसानले समयमै आवश्यक मात्रामा रासायनिक मल पाउन नसक्ने समस्या न्यूनीकरण तथा मल वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुबेदीले कृषि सामग्री कम्पनी लिमिटेड, तुलसीपुरका प्रमुख लिलाधर ओलीसँग छलफल गर्नुभएको छ।
छलफलका क्रममा किसानले मल प्राप्त गर्ने प्रक्रिया, मलको वितरण प्रणाली, कोटा निर्धारण तथा वास्तविक किसानसम्म मल पुग्ने अवस्थालगायत विषयमा विशेष चासो राखिएको बताइएको छ।
कमल सुबेदीले मल वितरणमा कुनै पनि प्रकारको झन्झट, असमानता वा बिचौलियाको प्रभाव नपरोस् र किसानले आवश्यक समयमा सहज रूपमा मल प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने विषयमा जोड दिनुभएको छ।
नेपालमा अनुदानको रासायनिक मलको वितरण कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत हुने र त्यसपछि तोकिएका सहकारी, फर्म वा कम्पनीमार्फत किसानसम्म पुर्याउने व्यवस्था छ। हाल लागू रहेको ‘विक्रेता व्यवस्थापन कार्यविधि, २०८२’ ले समेत कृषि सामग्री वितरणका लागि तोकिएका सहकारी संस्था, फर्म तथा कम्पनीलाई विक्रेताका रूपमा व्यवस्था गरेको छ।
मल वितरणमा स्थानीय तहको समेत महत्वपूर्ण भूमिका रहने व्यवस्था छ। स्थानीय तहमा मल वितरण व्यवस्थापन समितिमार्फत आवश्यकताका आधारमा मलको परिमाण तथा वितरण व्यवस्थापन गर्ने प्रक्रिया रहेको छ।
यसै सन्दर्भमा तुलसीपुर क्षेत्रमा किसानको वास्तविक आवश्यकता पहिचान गरी मलको उपलब्धता र वितरणलाई प्रभावकारी बनाउने विषयमा सुबेदी र कम्पनीका तुलसीपुर प्रमुख ओलीबीच छलफल भएको हो।
छलफलले किसानले मलका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्ने, वितरण प्रणालीलाई व्यवस्थित बनाउने र उपलब्ध मल सही किसानसम्म पुर्याउने विषयलाई प्राथमिकतामा राखेको बताइएको छ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा मागअनुसार मलको आपूर्ति हुन नसक्दा किसानले समस्या भोगिरहेका समाचार सार्वजनिक भइरहेका छन्। कतिपय अवस्थामा कम्पनीका गोदाममा मल मौज्दात देखिए पनि कोटा तोकिएका सहकारीले समयमै मल नउठाउँदा किसानसम्म पुग्न ढिलाइ हुने गरेको सरकारी पक्षबाटै बताइएको छ।
