

दाङ,९ फागुन।
यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।



महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै खेल बस्यो,” “मलाइ अमेरिका यही,” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो।उनको प्रस्तुतिसँगै उपस्थित हजारौँ दर्शक उत्साहित बनेका थिए। शर्माले गीत गाउँदा दर्शकहरू सँगसँगै नाच्दै रमाइलो गरेका थिए।



स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।


महोत्सवको मुख्य आकर्षणको रूपमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी, र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन्।





























