
दाङ, तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका–११ निवासी ३५ वर्षीय मनबहादुर डाँगी अहिले क्यान्सर रोगका कारण तीन महिनादेखि घरमै ओछ्यानमा थला परेका छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको परिवारले जनाएको छ।
डाँगीले यसअघि दाङ, नेपालगञ्ज, चितवन, काठमाडौं हुँदै भारतसम्म उपचार गराइसके पनि रोग पूर्ण निको नभएकाले पुनः थप उपचार आवश्यक भएको छ। तर, आर्थिक अभावका कारण उपचार अगाडि बढाउन नसकिएको उनको परिवारको पीडा छ।

उनका पाँच सन्तान र एक श्रीमती छन्। छोरीले बाबाको जीवन बचाइदिन सर्वसाधारणसँग भावुक अपिल गरेकी छन्। त्यस्तै, आमा भन्छिन्, “मैले मेरो छोरा बचाउने स्थिति छैन, अब सबै दर्शकको हातमा छ।”
स्वयं मनबहादुरले पनि आँसु झार्दै भनेका छन्, “मेरो छोराछोरी साना छन्, मलाई बचाइदिनुस्। यदि मलाई केही भइहाल्यो भने मेरा छोराछोरी कसको मुख हेरेर बस्लान्?”
आफन्तजन भन्छन्, “हामीले सकेसम्म सहयोग गरेका छौं, तर अहिले ठूलो रकम आवश्यक छ। अब सबैको सानो–सानो सहयोगले मात्र उनको उपचार र छोराछोरीको भविष्य सुरक्षित गर्न सकिन्छ।”
मनबहादुर डाँगीको जीवन रक्षा र उपचारका लागि परिवार र आफन्तले दाङका साथै देशभरका सहयोगी मन भएका सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
