
तुलसीपुर, दाङ। दाङ–सल्यान सडकखण्डमा सञ्चालन हुने लु १ ज १५९९ नम्बरको ट्याक्सीले क्षमताभन्दा धेरै यात्रु बोकेको, गाडीको साइडमा यात्रु झुन्डिएको तथा छतमै यात्रु राखेर यात्रा गराएको दृश्य सार्वजनिक भएपछि ट्राफिक नियम पालना गर्ने विषय फेरि चर्चामा आएको छ।

सार्वजनिक यातायातले यात्रुको सुरक्षाभन्दा बढी कमाइलाई प्राथमिकता दिँदा दुर्घटनाको जोखिम बढिरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। ट्राफिक जाँचलाई छल्ने उद्देश्यले केही सवारी चालकले अझै पनि यस्ता जोखिमपूर्ण गतिविधि गरिरहेको आरोप छ।
यसअघि इलाका प्रहरी कार्यालय तुलसीपुर ले विद्यालयका सवारीसाधनमा छड्के अनुगमन गरी नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही गरेको थियो। त्यस्तै अनधिकृत रूपमा जडान गरिएका अतिरिक्त बत्ती (वाट लाइट) हटाउने अभियान सञ्चालन गर्दै टिप्पर, ट्र्याक्टर, ट्याक्सी, टेम्पो लगायतका सवारीसाधनलाई कारबाही गरिएको थियो।
यस्तै, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर का प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक विरवान रावल तुलसीपुर आएदेखि नै ट्राफिक सचेतना कार्यक्रम, नियमित चेकजाँच तथा नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाहीलाई निरन्तरता दिँदै आएका छन्। तर, त्यसपछि पनि केही चालकले ट्राफिक नियमलाई बेवास्ता गर्दै यात्रुको ज्यान जोखिममा पार्ने कार्य रोकिएको देखिँदैन।
यसअघि तुलसीपुरको एक विद्यालयका विद्यार्थीले मोटरसाइकल स्टन्ट गरी चलाएको घटनामा कारबाही गरिएको थियो। हेल्मेट नलगाई मोटरसाइकल चलाउनेमाथि पनि कारबाही गरिएको थियो। साथै, तुलसीपुर उपमहानगरपालिकाको नगर प्रहरीको गाडीको पछाडिको ढालामा व्यक्ति बसेर यात्रा गरेको विषयमा समेत ट्राफिक नियम उल्लङ्घन भएको भन्दै कारबाही भएको थियो।
तर, यति धेरै निगरानी र कारबाहीका बाबजुद पनि सल्यान–दाङ रुटमा चल्ने केही सार्वजनिक सवारीले अझै छतमा यात्रु राख्ने, साइडमा झुन्ड्याएर यात्रा गराउने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य जारी राखेका छन्। यस्तो लापरबाहीले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सम्बन्धित निकायले कडा अनुगमन गरी दोषी चालक तथा सवारीधनीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयको छ।
