
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा स्वदेशी उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सरकारले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाली उत्पादनको निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अवरोध तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजारमा निर्यात सहज बनाउन कूटनीतिक पहल गरिने बताउनुभयो। साथै, प्लाइउड उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुन नदिन कच्चा पदार्थको निर्यातमा निरुत्साहन गर्ने उद्देश्यले भन्सार दर बढाउने तयारी रहेको जानकारी दिनुभयो।
त्यसैगरी, हिमाली तथा उच्च पहाडी क्षेत्रमा भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्न वन ऐन परिमार्जन गरिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले स्वदेशी उद्योगको संरक्षण, उत्पादन वृद्धि र निर्यात विस्तार सरकारको प्रमुख प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो।
छलफलमा सहभागी विभिन्न उद्योग सङ्घका प्रतिनिधिहरूले निर्यात, कच्चा पदार्थ, कानुनी प्रक्रिया तथा प्राविधिक झन्झटबारे आफ्ना समस्या राखेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीबाट सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी भएकोमा सरकारप्रति आशावादी बनेको प्रतिक्रिया दिएका छन्।
सरकार र निजी क्षेत्रबीचको यस प्रकारको प्रत्यक्ष संवादले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने, उद्योगीको मनोबल बढाउने तथा निर्यातमुखी अर्थतन्त्र निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
