
तुलसीपुर, दाङ – गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापमा अग्रणी मानिने ग्रेट अरानिको इङ्ग्लिस सेकेन्डरी स्कुल, तुलसीपुर–दाङ ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई लक्षित गर्दै विशेष ‘स्वागत कार्यक्रम (Welcome Programme)’ आयोजना गर्ने भएको छ।
विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०८३ साल साउन १६ गते शनिबार बिहान ७:०० बजे तुलसीपुरस्थित K & S Restro मा सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना कक्षा १२ का विद्यार्थीले गर्नेछन्।
यस कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालकी लोकप्रिय युवा गायिका रचना रिमाल को विशेष सांगीतिक प्रस्तुति रहनेछ। आफ्नो मधुर स्वर र चर्चित गीतमार्फत छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल रिमालको उपस्थितिले कार्यक्रममा थप उत्साह र रौनक थप्ने विश्वास विद्यालयले लिएको छ।
विद्यालयका अनुसार स्वागत कार्यक्रम केवल औपचारिक भेटघाटमा सीमित नभई नयाँ विद्यार्थीबीच आत्मीयता विकास, विद्यालय परिवारसँग परिचय, आत्मविश्वास अभिवृद्धि तथा सिकाइको यात्रालाई प्रेरणादायी बनाउने उद्देश्यले आयोजना गरिएको हो।
शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रणाली, अनुशासन, सह–पाठ्यक्रम गतिविधि तथा विद्यार्थीमैत्री वातावरणका कारण ग्रेट अरानिको इङ्ग्लिस सेकेन्डरी स्कुल दाङका उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित छ। विद्यालयले हरेक वर्ष शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विद्यालयले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका सम्पूर्ण विद्यार्थीलाई कार्यक्रममा सहभागी भई अविस्मरणीय क्षणको अनुभव लिन आग्रह गरेको छ।
