
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने विस्तारित बैठक शनिबार चितवनमा सम्पन्न भएको छ। देशभरका करिब ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त बैठकले पार्टीको आगामी नीति, संगठन सुदृढीकरण, चुनावी तयारी र आन्तरिक रुपान्तरणबारे ११ बुँदे निष्कर्ष सार्वजनिक गरेको छ।
बैठकमा देशको पछिल्लो राजनीतिक परिस्थिति, जनजीविकासँग सम्बन्धित समस्या, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, उम्मेदवार छनोटका मापदण्ड र पार्टीभित्र पारदर्शिता कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा गहिरो छलफल भएको पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा कार्यवाहक सभापति डीपी अर्याल ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै रास्वपाले पुरानो राजनीतिक संस्कारबाट फरक शैलीको राजनीति गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले जनताप्रति उत्तरदायी र पारदर्शी शासन प्रणालीको पक्षमा रास्वपाको प्रतिबद्धता दोहोर्याउनुभएको थियो।
त्यस्तै, उपसभापति डा. स्वर्णिम वाग्ले ले आगामी निर्वाचनका लागि तयार पारिँदै गरेको चुनावी वाचापत्रको अवधारणा पत्र प्रस्तुत गर्दै जनमुखी र व्यवहारिक वाचा गर्नेमा जोड दिनुभयो।
महामन्त्री कविन्द्र बुर्लाकोटी ले संगठनात्मक प्रतिवेदनमार्फत देशभरका जिल्ला र स्थानीय तहमा पार्टी विस्तारको अवस्था, सदस्यता अभिवृद्धि अभियान र आन्तरिक व्यवस्थापनका चुनौतीहरूबारे जानकारी गराउनुभयो।
सह–महामन्त्री विपिनकुमार आचार्य ले उम्मेदवार छनोटको रूपरेखा र मापदण्ड प्रस्तुत गर्दै योग्यता, इमानदारिता र जनसेवाप्रति प्रतिबद्धतालाई प्राथमिकतामा राखिने बताउनुभयो।
त्यस्तै, सचिवालय सदस्य दीपक बोहरा ले ‘हस्ताक्षर अभियान’ को प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्दै नागरिक सहमति र समर्थन प्राप्त अभियानलाई अझ सशक्त बनाइने जानकारी दिनुभयो।
बैठकले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउनेवातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ। साथै, विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाले बैठकमार्फत उम्मेदवार छनोटका लागि केही नयाँ मापदण्ड पनि सार्वजनिक गरेको छ।
त्यसअनुसार, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका पार्टी सदस्यहरूलाई यसपटक पुनः समानुपातिक उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। पार्टीका अनुसार यस कदमले नयाँ र सक्षम व्यक्तिलाई अवसर दिलाउने लक्ष्य लिएको हो।
बैठकले पार्टीभित्र संगठनात्मक अनुशासन, जवाफदेहिता, युवा नेतृत्वको सहभागिता र सुधारमुखी राजनीतिलाई प्राथमिकता दिने नीतिलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै, रास्वपाको नीति अब ‘स्लोगन होइन, समाधान’तर्फ केन्द्रित हुने भनिएको छ।
बैठकपछि प्रवक्ता मनिष झाले भने, “यो बैठकले रास्वपाको आगामी यात्राको नक्सा कोरेको छ। हामी अब जिम्मेवार र परिणाममुखी राजनीतिको नयाँ अध्याय सुरु गर्दैछौँ।”
पार्टीका नेताहरूका अनुसार चितवनको यो विस्तारित बैठकले रास्वपालाई आगामी निर्वाचन र दीर्घकालीन नीतिगत सुधारका लागि मार्गनिर्देशन दिने निर्णायक सम्मेलनका रूपमा स्थापित गरेको छ।
