
काठमाडौं – ऊर्जा क्षेत्रका अनुभवी अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं महानगरका प्रमुख बालेन शाहसँगको भेटघाटबारे सामाजिक सञ्जालमार्फत नयाँ सन्देश सार्वजनिक गरेका छन्।
घिसिङले आफ्नो आधिकारिक फेसबुकमार्फत बालेन शाहसँगको फोटो सेयर गर्दै लेखेका छन्, “देश बनाउने अभियानमा हामीसँगै छौँ।”
दुवैले सो भेटमा सहरी विकास, ऊर्जा व्यवस्थापन, नयाँ पुस्ताको भूमिकादेखि देश विकासका दीर्घकालीन योजनासम्मका विषयमा छलफल गरेको बुझिएको छ।
फोटोमा दुवैजना सरल परिवेशमा बसेर संवाद गरिरहेको देखिन्छ। पछिल्लो समय नेतृत्वमा पारदर्शिता, प्रभावकारी निर्णय र जनताको प्रत्यक्ष सहभागिताबारे उठिरहेका बहसको बीचमा आएको यस अभिव्यक्तिले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।
घिसिङ र शाह दुवै आफ्नो-आफ्नो क्षेत्रमा सक्रिय सुधारकका रूपमा चिनिन्छन्। घिसिङले ऊर्जा क्षेत्रमा गरेका कामले देशभर चर्चित छन् भने शाह सहरी प्रशासनमा नयाँ ढंगको नेतृत्वका कारण चर्चामा रहँदै आएका छन्।
भेटघाटपछि घिसिङले व्यक्त गरेको “संगैछौँ” भन्ने संदेशले देश निर्माणका लागि सहकार्य, विश्वास र साझा दृष्टिकोणको आवश्यकता झनै बलियो भएको टिप्पणीगरिएको छ।
