
तुलसीपुर, २६ मंसिर ।
दाङ तुलसीपुर उपमहानगरपालिका–७ को नयाँ प्रशासनिक भवन बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। नगरप्रमुख टीकाराम खड्काले भवनको उद्घाटन गर्दै वडास्तरमा सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यो संरचना महत्वपूर्ण भूमिका खेल्ने बताए।
पहिले साँघुरो कार्यालयमा सीमित स्रोतसाधनका साथ सेवा दिँदै आएको वडा–७ अब आधुनिक सुविधायुक्त भवनमार्फत सेवा दिन सुरु गरेको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिए। उनका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राही र कर्मचारी दुवैलाई सहज वातावरण तयार भएको छ।

साविकका वडा नं. ३, ४ र १५ मिलेर बनेको वडा–७ को प्रशासनिक भवन दुई तले संरचना र आठ कोठासहित निर्माण गरिएको हो।
उपमहानगरका सूचना अधिकारी यज्ञबहादुर केसीका अनुसार हाल उपमहानगरपालिका अन्तर्गतका सबै १९ वडाका आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएका छन्। यद्यपि, केही वडामा कोठाको संख्या पर्याप्त नभएकाले सेवा विस्तारमा अझै केही चुनौती रहेको उनले बताए।
