
दाङ । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको विशेष साङ्गीतिक प्रस्तुति रहने भएको छ। प्रचारप्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार पुस १८ गतेको प्रमुख आकर्षणका रूपमा शान्तिश्री परियारले आफ्नो प्रस्तुति दिनेछिन्। उनका साथै प्रेम प्रकाश ओली, दामोदर बस्याललगायत अन्य कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ।
यसैबीच, बिहीबार तुलसीपुर महोत्सव हाउसफुल भएको आयोजक संस्थाले जनाएको छ। ‘रियल हिरो’को नामले परिचित नायक पल शाहको उपस्थितिमा महोत्सवस्थलमा अपार दर्शकको भीड देखिएको थियो। पल शाहसँगै सम्झना भण्डारी, प्रकाश रेग्मी, नारायणी खत्रीलगायत चर्चित कलाकार तथा मोडलहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकदीर्घामा रहेका युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचेर भरपुर साथ दिएका थिए।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालनमा आएको यस महोत्सवमा दैनिक रूपमा उल्लेख्य संख्यामा दर्शकको सहभागिता भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार कलाकारहरूको आकर्षक प्रस्तुतिले दर्शकको चासो बढाउनुका साथै व्यापारिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको छ।
महोत्सवमा भोलि चर्चित गायिका रचना रिमालसहित अन्य थुप्रै लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने साँस्कृतिक संयोजक टिकाजंग वलीले जानकारी दिनुभयो।
