
दाङ । दाङको शान्तिनगर गाउँपालिकामा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि मिड वेस्ट प्वाइन्ट एकेडमी, शान्तिनगर–७ खैरेनीले हात पारेको छ।
गाउँपालिका स्तरीय रुपमा आयोजना गरिएको उक्त प्रतियोगितामा मिड वेस्ट प्वाइन्ट एकेडमीले उत्कृष्ट प्रदर्शन गर्दै कुल ४९ पदक प्राप्त गरेको हो। एकेडमीले २६ स्वर्ण, १४ रजत र १३ कास्य पदक जित्दै समग्र प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ।

यस जितसँगै मिड वेस्ट प्वाइन्ट एकेडमीले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि आफ्नो नाममा लेखाएको छ भने शान्तिनगर गाउँपालिका स्तरमा सातौँ पटक समग्र विजेता बन्ने गौरवसमेत प्राप्त गरेको छ।
प्रतियोगितामा शान्तिनगर गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। एथलेटिक्स, भलिबल, कबड्डी लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधि तथा आयोजक पक्षले विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनात्मक विकासका लागि यस्ता खेलकुद प्रतियोगिता निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विजयी खेलाडी तथा विद्यालयलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।
