
दाङ, १३ माघ ।
दाङको तुलसीपुरस्थित अरनिको मैदानमा अन्तर्राष्ट्रिय स्तरको खो–खो प्रतियोगिता आयोजना हुने भएको छ। आरबीटी क्लबको आयोजनामा माघ १५ र १६ गते दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट खो–खो टिमहरूको सहभागिता रहनेछ। खेलकुदमार्फत आपसी मित्रता, स्वस्थ प्रतिस्पर्धा र खेल विकासमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
आरबीटी क्लबकी अध्यक्ष उषा कवरका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। उनले दाङको खेलकुद पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताइन्।
प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनुका साथै दाङमा खो–खो खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा खेलप्रेमी समुदायसँग सहयोगको अपिल गरेको छ।
