
चितवन । रवि लामिछानेले फागुन २१ लाई परिवर्तनको निर्णायक दिनका रूपमा चित्रण गर्दै चितवन–२ का मतदातासामु भावुक र आक्रामक शैलीमा आफ्ना प्रतिबद्धता दोहोर्याएका छन्। उनले भने, “मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ। कुशासनका पिताहरू अब संसदमा देखिने छैनन्।”
उनले सुशासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएका युवाहरूको आवाज दबाउने प्रयास भएको आरोप लगाउँदै भने, “केवल सुशासन र अभिव्यक्ति स्वतन्त्रता मागेका युवाहरूको रगतले रङ्गिएका हातहरू र अनुहारहरूले संसदको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न पाउने छैनन्। कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्नेछ।”
‘संसद टेक्न नदिने’ कुप्रचारको खण्डन
लामिछानेले आफूले चुनाव जिते पनि संसद टेक्न नपाउने भन्ने कुप्रचार फैलाइएको दाबी गर्दै त्यसको खण्डन गरे। “मैले चुनाव जितेँ भने संसद टेक्न पाउँदिन भनेर कुप्रचार गरिएको रहेछ,” उनले भने, “तर संसद् नियमावली नमिची मलाई हिजो पनि रोक्न मिल्दैनथ्यो, भोलि पनि मिल्ने छैन।”
उनले आगामी संसद फरक स्वरूपको हुने दाबी गर्दै भने, “अबको संसदमा न त्यस्तो सभामुख हुनेछन्, न त्यस्तो अत्याचार हुनेछ।”
चितवन–२ मा ‘पूर्ण प्रतिनिधित्व’को वाचा
चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले आफूले मतदाताको पूर्ण प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरे। “चितवन–२ मा मैले तपाईँहरूको पूर्ण प्रतिनिधित्व गर्नेछु। मतदाताले गौरव गर्नेगरी काम गर्नेछु,” उनले भने।
उनले देशभरका ‘घन्टीवाहक’ उम्मेदवारहरूले पनि मतदाताको अपेक्षा अनुरूप काम गर्ने दाबी गरे। “देशैभरिका घन्टीवाहक उम्मेदवारहरूले मतदाताले गौरव गर्ने गरी, देशले गौरव गर्ने गरी काम गर्नेछन्,” उनले उल्लेख गरे।
परिवर्तनको नारासहित चुनावी माहोल ततिँदै
फागुन २१ नजिकिँदै जाँदा चितवन–२ मा चुनावी माहोल थप तातिएको छ। परिवर्तन, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको नारासहित लामिछानेले मतदातालाई आफ्नो पक्षमा उभिन आग्रह गरेका छन्। अब मतदाताको फैसला के आउँछ भन्ने चासो चितवन मात्रै होइन, देशव्यापी रूपमा बढ्दै गएको छ।
