
दाङ, साउन १३ – दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुवेदी ले जनतासँग प्रत्यक्ष जोडिएका समस्या बुझ्ने अभियानअन्तर्गत दाङको टरिगाउँ विमानस्थलको स्थलगत अवलोकन गरेका छन्।
विमानस्थल निरीक्षणका क्रममा सांसद सुवेदीले विमानस्थलका कर्मचारीसँग सेवा सञ्चालन, उडानको अवस्था र यात्रुहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए। कर्मचारीहरूले हप्तामा चार वटा उडान तालिका भए पनि यस महिनाभर एउटा पनि जहाज टरिगाउँ विमानस्थलमा अवतरण नगरेको जानकारी गराएका थिए।

उडान नियमित नहुँदा दाङसहित रोल्पा, रुकुम, सल्यानलगायत जिल्लाका नागरिकले सास्ती खेप्नुपरेको छ। आकस्मिक यात्रा, बिरामीको उपचार, सरकारी कामकाज तथा व्यवसायिक गतिविधिमा समेत यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
अवलोकनपछि सांसद सुवेदीले टरिगाउँ विमानस्थल दाङको मात्रै नभई समग्र राप्ती क्षेत्रकै महत्वपूर्ण पूर्वाधार भएकाले यसको नियमित सञ्चालन आवश्यक रहेको बताएका छन्। उनले सम्बन्धित निकायसँग समन्वय गरेर नियमित उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि पनि टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार तथा स्तरोन्नतिका लागि संघीय बजेट विनियोजन गराउन सांसद सुवेदीले पहल गरेका थिए। स्थानीयका अनुसार पूर्वाधार विकाससँगै नियमित हवाई सेवा सञ्चालन हुन सके दाङको आर्थिक, पर्यटन तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ।

स्थानीयवासीले विमानस्थलमा पूर्वाधार निर्माणका कामसँगै नियमित उडान सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। सांसद सुवेदीको स्थलगत अनुगमनले लामो समयदेखि ओझेलमा परेको टरिगाउँ विमानस्थलको समस्या फेरि राष्ट्रिय बहसमा ल्याएको भन्दै स्थानीयले आशा व्यक्त गरेका छन्।
