
दाङ, जेठ २२ – दाङको शान्तिनगर गाउँपालिका–७ स्थित मिड वेस्ट प्वाइन्ट एकेडेमी शैक्षिक सत्र २०८३ का लागि राष्ट्रिय सेवा दल (NCC) अन्तर्गत जुनियर डिभिजन तालिम सञ्चालन गर्ने विद्यालयका रूपमा छनोट भएको छ।
ज्वालादल गण, भरतपुर ब्यारेक दाङले जारी गरेको पत्रअनुसार जिल्लाका चार विद्यालयमध्ये मिड वेस्ट प्वाइन्ट एकेडेमी एकमात्र संस्थागत विद्यालयका रूपमा छनोट भएको हो। बाँकी तीन विद्यालय सामुदायिक विद्यालय रहेका छन्।
नेपाली सेनाको समन्वयमा सञ्चालन हुने उक्त तालिममार्फत विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान तथा सामाजिक सेवाको भावना विकास गरिने जनाइएको छ। तालिमका लागि आवश्यक विद्यार्थी छनोट प्रक्रिया तोकिएको समयावधिभित्र सञ्चालन गरिने र विद्यालयले आवश्यक तयारी थाल्ने जनाएको छ।
राष्ट्रिय सेवा दलको यो कार्यक्रमले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, शारीरिक क्षमता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। मिड वेस्ट प्वाइन्ट एकेडेमीको छनोटसँगै विद्यालय, विद्यार्थी तथा अभिभावकहरूमा उत्साह थपिएको छ।
