
दाङ, तुलसीपुर। छाडा चौपायाको संरक्षण, व्यवस्थापन तथा गौसेवा अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय गौरक्षा वाहिनी गौसेवा संघ नेपालले आफ्नो केन्द्रीय कार्यसमिति गठन गरेको छ।
तुलसीपुरस्थित होटल वेस्टर्न प्यालेसमा आयोजित विशेष बैठकबाट संघको नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको हो। संघका केन्द्रीय अध्यक्ष अनिल बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले गौसंरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकबाट सात सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ। समितिको सचिवमा सामाजिक अभियन्ता विजय केसी, कोषाध्यक्षमा आध्यात्मिक व्यक्तित्व तथा समाजसेवी यज्ञबहादुर कवँर (डाँगी) चयन भएका छन्। सदस्यहरूमा कृष्ण न्यौपाने, सुधन न्यौपाने, जावेद अख्तर र मोहम्मद लक्की मुसलमान रहेका छन्।
त्यसैगरी संघको सल्लाहकार समितिमा जय जीव दर्शनका प्रवर्तक तथा समाजसेवी उपेन्द्र पौडेल, होटल वेस्टर्न प्यालेसका सञ्चालक एवं शिवसेना नेपालका केन्द्रीय सदस्य असिताभ लामिछाने तथा समाजसेवी यमानन्द जीसीलाई जिम्मेवारी दिइएको छ।
बैठकले विशेषगरी गाउँ तथा शहरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका छाडा गाई–गोरु तथा अन्य चौपायाको संरक्षण, उद्धार, पालनपोषण र व्यवस्थापनका कार्यक्रमलाई तीव्रता दिने निर्णय गरेको छ। साथै स्थानीय तह, सामाजिक संघसंस्था र नागरिक समाजसँग सहकार्य गर्दै गौसंरक्षण अभियानलाई व्यापक बनाउने रणनीति समेत तय गरिएको जनाइएको छ।
संघका पदाधिकारीहरूले गौसेवा केवल धार्मिक आस्थासँग मात्र सम्बन्धित विषय नभई सामाजिक उत्तरदायित्व र पशु कल्याणसँग जोडिएको अभियान भएको उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
