
तुलसीपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाङको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट तुलसीपुरका युवा व्यवसायी सुरेन्द्र परियार अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघमा सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। परियार तुलसीपुरको ‘ख’ लाइनस्थित डायमण्ड टेलरिङ शपका सञ्चालक हुनुहुन्छ।
अधिवेशनमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कालीप्रसाद नेपालीको प्रमुख आतिथ्यता रहेको थियो। संघका पूर्व जिल्ला सचिव फत्ते परियारको सहजीकरणमा सम्पन्न अधिवेशनको अध्यक्षता संघका पूर्व अध्यक्ष पदम नेपालीले गर्नुभएको थियो।
अधिवेशनबाट अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको संघले जनाएको छ। नेतृत्व चयनसँगै संघले दाङमा कपडा तथा सिलाई व्यवसायमा आबद्ध व्यवसायीहरूको हकहित, व्यावसायिक विकास र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष परियारले व्यवसायीबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै व्यवसाय क्षेत्रका साझा समस्या समाधान तथा व्यवसाय प्रवर्द्धनका लागि भूमिका खेल्ने बताउनुभएको छ।
