
तुलसीपुर, दाङ । बाराको जितपुरसिमरा–१ भक्तिनगरमा ३ वर्षीया बालिका गरिमा चौधरीको मृत्यु भएको घटनालाई लिएर दाङको तुलसीपुरमा पनि न्यायको माग गर्दै प्रदर्शन गरिएको छ।
‘जस्टिस फर गरिमा’ अभियानअन्तर्गत तुलसीपुरका विभिन्न चोकमा भेला भएका नागरिकहरूले ‘गरिमालाई न्याय दे सरकार’, ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन हुनुपर्ने बताएका छन्। उनीहरूले घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र पीडित परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्।
न्यायको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। यस्ता संवेदनशील घटनामा अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सरकार गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ थियो।
तुलसीपुरमा उठेको ‘जस्टिस फर गरिमा’को आवाजले गरिमाका लागि न्यायको मागलाई थप बलियो बनाएको छ। प्रदर्शनकारीहरूले दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म न्यायको आवाज उठाइरहने बताएका छन्।
