
तुलसीपुर, दाङ
झिलिमिलीको पर्व तिहार नजिकिँदै गर्दा दाङको तुलसीपुरका खेलराज नेपाली मादल बनाउन निकै व्यस्त भएका छन्। तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको प्रयोग अनिवार्य हुने भएकाले अहिले उनी माग पूरा गर्न धौधौ परेका छन्।
पश्चिम नेपालमा खमारीको काठबाट मादल उत्पादन गर्ने एक मात्र कारीगरका रूपमा परिचित खेलराजले यस वर्षको तिहारका लागि बनाएका सबै मादल पहिले नै बिक्री भइसकेका छन्। नयाँ मागहरू आए पनि समय र स्रोतको अभावका कारण सबै ग्राहकलाई मादल उपलब्ध गराउन नसकेको उनी बताउँछन्।
“तिहार आउनासाथ मादलको माग निकै बढ्छ। पहिले बनाएका सबै सकिए, अहिले त माग धान्नै मुस्किल भइरहेको छ,” खेलराजले भने। उनका अनुसार तिहारबाहेक अन्य समयमा पनि मादल बिक्री हुने गर्छ, तर चाडपर्व नजिकिँदा माग झन् बढ्ने गर्छ।
खेलराजले आफूसहित दुई जना सहयोगी राखेर दिनरात मादल बनाउने काम गरिरहेका छन्। उनीहरूले नयाँ मादल उत्पादनसँगै पुराना मादल मर्मत गर्ने सेवासमेत दिँदै आएका छन्। उनका भनाइमा दाङमै बनेका मादलहरू अहिले नेपालका धेरै जिल्लामा बिक्री भइरहेका छन्।
पश्चिमी शैलीका डेक र स्पिकरको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रका धेरै बुढापाकाहरू र युवाहरूले परम्परागत देउसी–भैलो मादल, बाँसुरी र झ्यालेको साथमा खेल्ने परम्परा जोगाइरहेका छन्। “डेकले आवाज त गर्छ, तर मादलले आत्मा छुन्छ,” खेलराज मुस्कुराउँदै भन्छन्।
उनले बनाउने मादलको मुख्य विशेषता खमारीको काठ, बलिया छाला र स्थानीय सीप हो। गुणस्तरीय मादलका कारण ग्राहकहरू वर्षभरि उनको पसलमा आउने गर्छन्।
संस्कृति र परम्परा विस्तारै आधुनिक प्रविधिले ओझेलमा पार्दै गर्दा खेलराजजस्ता सीपिला व्यक्तिहरूले नेपाली मौलिक संगीत र संस्कृतिलाई जीवित राख्न गरेको प्रयास उदाहरणीय मानिन्छ।
