
दाङ, कार्तिक २४ – दाङमा अबैध रूपमा भन्सार छलि ल्याइएको ठूलो परिमाणको चिनी प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा कपिलवस्तुबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००५८ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो।

जाँच गर्दा उक्त ट्रकमा भारतबाट चोरी पैठारी गरी ल्याइएको २८ बोरा चिनी फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको प्रत्येक बोरामा ५० केजीका दरले जम्मा १ हजार ४०० केजी चिनी रहेको र प्रति केजी रु. १०० का दरले अन्दाजी मुल्य रु. १ लाख ४० हजार पर्ने जनाएको छ।
बरामद गरिएको मिनी ट्रकको अन्दाजी मुल्य रु. २५ लाख र चिनी सहित कुल मुल्य करीब रु. २६ लाख ४० हजार बराबर हुने प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको ट्रक र चिनीलाई आवश्यक कानुनी कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तुमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
