
दाङ, मङ्सिर १
दंगीशरण–३ चखौरा स्थित संग्रहालयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूलाई लक्षित गरी दुई दिने घरायसी खाद्यान्न उत्पादन एवं पोषणसम्बन्धी क्षमता वृद्धि तालिम सोमबारबाट सुरू भएको छ। ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत आयोजना गरिएको तालिम बेश (Backward Society Education) को समन्वय तथा हेलेन केलर, भिटामिन एन्जल्स र IDE को वित्तीय सहयोगमा सञ्चालन हुँदैछ।
उद्घाटन समारोहमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दैनिक आहारमा रङ, मात्रा, विविधता र पोषणको संतुलन अनिवार्य रहेको उल्लेख गर्दै स्थानीय तहमा उत्पादन हुने पोषणयुक्त खानेकुराको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए।

बेशका जिल्ला कार्यसमिति सदस्य भरत अधिकारीका अनुसार प्रशिक्षणले समुदायमा पोषणबारेको बुझाइ बढाएर व्यवहारमा सुधार ल्याउने अपेक्षा राखिएको छ। स्वागत मन्तव्यमा बेशका निर्देशक चुर्ण चौधरीले घरमै उत्पादन हुने तर असल पहिचान तथा सही उपयोग नहुदा कुपोषण देखिन थालेकाले यस्तो तालिम अपरिहार्य रहेको बताए।
IDE नेपालका प्रोजेक्ट अफिसर सन्तोष शर्माले महिला स्वास्थ्य स्वयंसेवीहरू समुदाय स्तरमै परिवर्तन ल्याउने मुख्य माध्यम भएको बताउँदै उनीहरूको सीप तथा ज्ञान अभिवृद्धि परियोजनाको प्राथमिकता भएको स्पष्ट पारे।
तालिममा कुपोषण रोकथामका उपाय, घरायसी कृषिजन्य उत्पादनलाई पोषणसँग कसरी जोड्ने, सन्तुलित थालीका सिद्धान्त र स्थानीय रूपमा उत्पादन गर्न सकिने पौष्टिक खाद्यान्न पहिचानजस्ता व्यावहारिक विषय समेटिएका छन्।
दाङका सात स्थानीय तहबाट आएका २२ जना महिला स्वास्थ्य स्वयंसेवी सहभागी रहेको तालिम ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’का संयोजक सुरेश चौधरी र IDE का प्रोजेक्ट अफिसर सन्तोष शर्माले संयुक्त रूपमा सहजीकरण गरिरहेका छन्।
