तुलसीपुर, दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा ज्येष्ठ नागरिक तथा सासु–सशुराको राम्रो हेरचाह गर्ने महिलाहरूलाई सम्मान गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ९० जना ज्येष्ठ नागरिक र ४४ जना महिलालाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै तुलसीपुरका मेयर टिकाराम खड्काले सासु–सशुरालाई माया र सम्मानका साथ हेरचाह गर्ने बुहारीलाई सम्मान गर्ने अभियान तुलसीपुरबाट सुरु भएको बताउनुभयो। उहाँले यस्तो अभियान देशभरका स्थानीय तहका लागि सिकाइको विषय बन्न सक्ने उल्लेख गर्नुभयो। साथै, यसले बुहारीहरूमा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने र अब आमाबुबा छोरा–बुहारीबाट पीडित हुन नपर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, वडा नं. ११ का अध्यक्ष मानबहादुर रावतले राम्रो काम गर्नेले एक दिन अवश्य फल पाउने बताउँदै सभ्य समाज निर्माणका लागि सबैले प्रेम र मित्रवत व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।
समाजमा उल्लेखनीय योगदान पुर्याएका ज्येष्ठ नागरिक तथा महिलाहरूको अनुभव र भूमिकाको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले ज्येष्ठ नागरिकको अनुभव र महिलाहरूको सक्रिय सहभागिता समाज विकासका लागि महत्वपूर्ण हुने बताए। यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै सम्मान गर्ने संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
कार्यक्रमको सहजीकरण वडा सचिव पदमकुमार भण्डारीले गर्नुभएको थियो।
Related Stories
Ashok Sharma १८ फाल्गुन २०८२, सोमबार २१:४७
Ashok Sharma १० माघ २०८२, शुक्रबार १९:०५
Ashok Sharma ११ पुष २०८२, शुक्रबार १२:४३
