
दाङ चैत्र ३० ।
वास्तविक खबर समाचारदाता । दाङको तुलसीपुरमा पत्रकारहरूमाथि गरिएको भनिएको अपमानजनक व्यवहारप्रति विभिन्न पत्रकार संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल तथा महासंघको लुम्बिनी प्रदेश समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार चेतन वली र माधव दाहालसँग जोडिएको घटनाप्रति चासो व्यक्त गरेका हुन्।
विज्ञप्तिहरू अनुसार तुलसीपुरस्थित एक मिठाई पसलमा पत्रकारहरूको फोटो सार्वजनिक शौचालय क्षेत्रमा राखिएको र सामाजिक सञ्जालमार्फत प्रचार गरिएको घटनालाई पत्रकार संगठनहरूले अपमानजनक, निन्दनीय तथा कानुनविपरीत कार्यका रूपमा लिएका छन्।
संगठनहरूले समाचार सामग्रीप्रति असहमति भएमा त्यसको समाधान कानुनी तथा संस्थागत माध्यमबाट खोज्नुपर्ने स्पष्ट पारेका छन्। व्यक्तिगत रूपमा आरोप लगाउँदै सार्वजनिक रूपमा फोटो टाँस्ने वा चरित्रहत्या गर्ने गतिविधिले प्रेस स्वतन्त्रतामाथि असर पार्ने उनीहरूको ठहर छ।
त्यस्तै, प्रेस चौतारी नेपालले पनि घटनालाई प्रेस स्वतन्त्रताविरुद्धको गतिविधिका रूपमा लिँदै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
पत्रकार महासंघका तर्फबाट जारी विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको संरक्षण गर्न आग्रह गरिएको छ।
साथै, पत्रकार संगठनहरूले पत्रकारहरूलाई पनि जिम्मेवार, तथ्यमा आधारित र मर्यादित पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिएका छन्।
