
दाङ, ५ वैशाख — दाङको तुलसीपुरमा प्रहरी हवलदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी घाइते भएकी छन्।
शुक्रबार बिहान करिब ११ बजेतिर तुलसीपुरस्थित गुल्मचोकको जेब्राक्रसमा कारागार कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हवलदार भरत थारुले चलाएको भे १४ प १६१ नम्बरको मोटरसाइकलले १९ वर्षीया मुना बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
सल्यान घर भई हाल तुलसीपुर–८ दुधेनामा बसोबास गर्दै आएकी बुढाथोकी हिमाल एकाडेमीकी कक्षा १२ की विद्यार्थी हुन्। दुर्घटनामा उनको देब्रे खुट्टा भाँचिएको छ भने टाउकोमा समेत चोट लागेको बताइएको छ। हाल उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइते बुढाथोकीको यही वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने तयारी रहेको बताइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ४१ वर्षीय प्रहरी हवलदार भरत थारु पनि घाइते भएका छन्। उनको बाँया खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
