
तुल्सीपुर, दाङ | वैशाख ११
दाङको तुल्सीपुर उपमहानगरपालिका विगत आठ महिनादेखि आधारभूत सेवा व्यवस्थापनसँग सम्बन्धित विभिन्न चुनौतीसँग जुधिरहेको देखिएको छ। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन का क्रममा उपमहानगर कार्यालय परिसरमै पार्किङमा राखिएका दमकलसहितका सवारी साधन तथा दुईवटा भवनमा क्षति पुगेपछि हालसम्म दमकल सेवा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
गर्मी मौसम सुरु भएसँगै दाङ तथा आसपासका क्षेत्रमा आगलागीका घटनाहरू बढ्न थालेका छन्। केही दिनअघि पोटली क्षेत्रमा भएको आगलागीका बेला उपमहानगरका कर्मचारीहरू उपलब्ध स्रोत–साधनकै भरमा आगो नियन्त्रणमा खटिनु परेको स्थानीय स्रोतहरूले जनाएका छन्। यसले आपतकालीन सेवा सुदृढीकरणको आवश्यकता औंल्याएको छ।
यसैबीच, आन्दोलनका क्रममा क्षति पुगेको तुलसी टावर को मर्मत तथा पुनःस्थापना कार्य अझै अघि बढ्न सकेको छैन। तुलसीपुर नगर विकासद्वारा निर्माण गरिएको उक्त टावर उपमहानगरपालिकाको व्यवस्थापनमा सञ्चालन गर्ने योजना रहेको थियो।
स्थानीयवासीहरूले यसलाई नगरको महत्वपूर्ण संरचनाका रूपमा लिँदै समयमै पुनःनिर्माणको अपेक्षा गरेका छन्। सरसफाइ व्यवस्थापनतर्फ पनि केही स्थानमा समस्या देखिएको छ। अरनीको मैदान आसपासको नालामा फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको स्थानीयहरूले बताएका छन्। उक्त क्षेत्र विभिन्न समयमा मेला, धार्मिक महोत्सव तथा खेलकुद कार्यक्रम हुने सार्वजनिक स्थलका रूपमा चिनिन्छ। बिहान–बेलुका विद्यार्थी तथा सर्वसाधारणको आवागमन हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
त्यस्तै राप्ती प्रादेशिक अस्पताल को गेटअगाडि रहेको खाल्डोमा ढल मिसिएको फोहोर पानी जम्दा स्वास्थ्य जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
सडक पूर्वाधारतर्फ पनि सुधार आवश्यक देखिएको छ। विभिन्न स्थानमा जडान गरिएका सडक बत्तीहरू केही ठाउँमा नबल्ने अवस्था रहेको, रुख कटानपछि तार व्यवस्थापन व्यवस्थित नभएको जस्ता समस्या देखिएका छन्। यसले सुरक्षासम्बन्धी जोखिम समेत बढाउन सक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको डम्पिङ साइटमा कुहिने फोहोरबाट मल उत्पादन गर्ने कार्य पनि केही समयदेखि सुस्त भएको बताइएको छ। “ग्रीन तुल्सीपुर, क्लिन तुल्सीपुर” अभियानलाई प्रभावकारी बनाउन नियमित अनुगमन र व्यवस्थापन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। साथै, सार्वजनिक पोलहरूमा अनाधिकृत रूपमा टाँसिएका प्रचार सामग्रीले शहरको सौन्दर्यमा असर पुर्याएको देखिन्छ।
समग्रमा, जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित यी विषयहरूमा समयमै सुधारका पहल आवश्यक रहेको स्थानीयवासीहरूले बताएका छन्। सम्बन्धित निकायले प्राथमिकताका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
