

दाङ, असार २२ — शान्तिनगर गाउँपालिकाले शिक्षा, खेलकुद तथा विद्यालय व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याउने शिक्षक, विद्यार्थी, खेलाडी, कर्मचारी तथा सहयोगी व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न “शिक्षक तथा विद्यार्थी सम्मान एवं पुरस्कार वितरण कार्यक्रम” मा कक्षा ८, १० र १२ का उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, अवकाश प्राप्त शिक्षक, गाउँपालिका अनुदान शिक्षक, विद्यालय सहयोगी, IEMIS व्यवस्थापनमा योगदान पुर्याउने कर्मचारी तथा राष्ट्रिय खेलाडी र MBBS अध्ययनरत विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै उत्कृष्टताको सम्मानले विद्यालयमा सकारात्मक प्रतिस्पर्धा, अनुशासन र जिम्मेवारीबोधको विकास गर्ने बताए।
उनले भने, “शिक्षामा गरिएको लगानी भविष्यमा गरिएको लगानी हो। विद्यार्थी, शिक्षक र विद्यालयको मेहनतलाई सम्मान गर्ने संस्कृतिले अझ राम्रो नतिजा ल्याउन प्रेरणा दिन्छ। शान्तिनगर गाउँपालिकाले गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षाको विकासलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक लगानी र सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ।”
कार्यक्रममा कक्षा ८, १० र १२ मा उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीलाई जनही रु. ६ हजार ६ सय ६६ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यसैगरी पालिका तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका उत्कृष्ट खेलाडी तथा पदक विजेतालाई रु. ३ हजार र प्रदेश तथा केन्द्रस्तरीय पदक विजेतालाई रु. ५ हजार नगदसहित सम्मान गरिएको थियो।
अवकाश प्राप्त शिक्षक, गाउँपालिका अनुदान शिक्षक तथा विद्यालय सहयोगीहरूलाई समेत सम्मान गरिएको कार्यक्रममा मनिराम घर्ती र रामबहादुर चौधरीलाई जनही रु. ५० हजार नगदसहित विशेष सम्मान प्रदान गरिएको थियो।
विद्यालयको IEMIS व्यवस्थापनमा विशेष योगदान पुर्याएका गफार मियालाई सम्मान गरिएको थियो भने राष्ट्रिय खेलाडीलाई जनही रु. २० हजार र MBBS अध्ययनरत विद्यार्थीलाई जनही रु. ३५ हजार प्रोत्साहनस्वरूप उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। साथै शिक्षक मेन्टरिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका मेन्टर तथा मेन्टी शिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँपालिकाले सम्मानित सबै शिक्षक, विद्यार्थी, खेलाडी, कर्मचारी तथा सहयोगी व्यक्तित्वलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि शिक्षा र खेलकुदको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
“सम्मानले प्रेरणा दिन्छ, प्रेरणाले उत्कृष्ट भविष्य निर्माण गर्छ।” भन्ने मूल सन्देशसहित सम्पन्न कार्यक्रमले शान्तिनगर गाउँपालिकामा शिक्षा र खेलकुद क्षेत्रमा उत्कृष्टताको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
