
तुलसीपुर, १ असोज ।
दाङकाे तुलसीपुर उपमहानगरपालिकाले खरिद गरेका २० वटा कम्प्युटर कमसल खालको भएको खुलासा भएपछि फेरबदल गरिएको छ । आपसी मिलोमतोमा सम्झौता विपरित सामान खरिद गरिएको पाइएपछि काठमाण्डौबाट रातारात सामान मगाएर फेरबदल गरिएको हो । खरिद गरिएका सामान असारको अन्तिम सातादेखि साउनको पहिलो हप्तासम्म १९ वटै वडामा पठाइएको थियो ।
सामान आपूर्तिको जिम्मा पाएको सिन्धु इन्जिनियरिङ प्रालिसँग डिएल कम्पनीको मोनिटर र आठ जीवी र्याम भएको हार्डडिस्क सहितको कम्प्युटर खरिदका लागि सम्झौता गरिएको थियो । तर सामान आउँदा भने जिलिकन कम्पनीको मोनिटर र ४ जिवी र्यामको हार्डडिस्क पठाएपछि यसको वास्तविक रहस्य बाहिर आएको हो । कोटेसन मार्फत प्रालिले ९ लाख ९० हजार लागतमा २० वटा कम्प्युटर र २० वडा स्क्यानर खरिद गर्ने उपमहानगरसँग साउन महिनकाे दाेस्राे साता सम्झौता गरेको थियो ।
कमसल खालको सामान खरिद गरेको कुरा बाहिर आएपछि आत्तिएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले काठमाडौंबाट रातारात सामान मगाएर आफ्नै सरकारी निवासमा एक दिन राखेर भोलिपल्ट त्यहीँबाटै सबै वडामा पुगेर फेरबदल गर्न लगाएको कर्मचारीहरूले बताएका छन् ।
‘यीनीहरुले थाह पाउँदैनन् भनेर हामीलाई गुमराहमा पार्न खोजिएको थियो । तर हामीले थाह पाएपछि कुरा बाहिर आयो । कमिसन त सामान खरीद गर्ने बेलामै मूल्यमा मिलिसकेको थियो होला तर अझै प्रत्येक पाटपुर्जा पनि नछोड्ने बिचार थियो, सायद त्यो पनि हरायो ।’ ती कर्मचारीले भने ।
वडा कार्यालयले किन बुझ्न मान्दैनन् कम्प्युटर ?
उपमहानगरका ५, ९, १३ र १५ वडाले विवादित सामान भन्दै अहिले पनि बुझ्न मानिरहेका छैनन् । अन्य वडाले सामान बुझे पनि ४ वटा वडाले भने सामान खरिदको सम्झौता पत्र सहित बिल अनिवार्य खोजेपछि उपमहानगरले अहिले पनि बिल उपलब्ध गराउन सकिरहेको छैन । आर्थिक घोटला गर्नका लागि सेटिङमा ल्याएका सामानहरू आफूले नबुझ्ने ५ का वडा अध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो ।
‘हामीलाई आवश्यक परेको भए त हामी आफै खरिद गर्ने थियौं । के हामीले माग गरेको हो र कम्प्युटर ? आर्थिक लाभ प्राप्त गर्न उनीहरूले ल्याएको सामान हामीले बुझिदिनुपर्ने ?’ अध्यक्ष शाहले भन्नुभयो ।
यता तुलसीपुर उपमहानगरपालिकाका लेखा समितिका संयोजक घनश्याम ढकालले योजनावद्ध तवरले सेटीङ मिलाएर खान जानेकासंग आफुहरुले हारथाक खाइसकेको बताउनुभयो ।
यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीकाे माेबाइल नम्बर ९८५१२५३६१२ मा पटक पटक सम्पर्क गर्दा अफिस समयमा फोन उठेन तर बेलुका फोन हान्दा उठ्यो तर घरपरिवार सङ हुदा अफिसबारे कुरा नगर्ने बताए ।
