
तुलसीपुर, असोज २४ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा भइरहेको पोल स्थानान्तरण कार्यका क्रममा पोलमा रहेका इन्टरनेटका केवल तारहरू समयमै सार्न सम्बन्धित सेवा प्रदायक कम्पनीहरूलाई अनुरोध गरेको छ।
प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनामा तुलसीपुर उपमहानगरपालिका–७ चौतारी टोल, तुलसीपुर–६ गोठली गाउँ, गाइडहरस्थित पशुपति टोल, अरणी टोल र सगरनाथ टोल लगायतका क्षेत्रमा पोल स्थानान्तरणको काम भइरहेको जानकारी दिएको छ। साथै गोलौरा क्षेत्रका सडकबीचमा रहेका पुराना पोलहरू पनि सार्ने काम अघि बढाइरहेको उल्लेख गरिएको छ।
कार्यालय प्रमुख सुरेशकुमार महतोका अनुसार पुराना पोलहरूमा रहेका इन्टरनेट केबल र तारहरू पाँच दिनभित्र नयाँ पोलमा सार्न सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरिएको हो। उनले भने, “विद्युत् वितरण प्रणाली सुरक्षित र व्यवस्थित बनाउनका लागि पोल स्थानान्तरण कार्य अनिवार्य भएकोले सबैको सहकार्य आवश्यक छ।”
प्राधिकरणले तोकिएको समयसीमाभित्र केबल नसराएमा पोल स्थानान्तरणका क्रममा हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कम्पनीले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।
महतोका अनुसार पछिल्ला वर्षहरूमा सडक विस्तार र भौतिक पूर्वाधार विकासका कारण पोलहरू सडकबीचमा पर्ने समस्या बढ्दै गएको छ, जसले दुर्घटनाको जोखिम समेत बढाएको थियो। “अब नयाँ पोलहरू सुरक्षित ठाउँमा सार्ने काम अन्तिम चरणमा पुगेको छ,” उनले थपे।
विद्युत प्राधिकरणले स्थानीय बासिन्दा र सरोकारवालाहरूलाई समेत कार्यको समयमा सहयोग गर्न आग्रह गरेको छ, ताकि वितरण प्रणाली आधुनिकीकरणका कामहरू सहज र समयमै पूरा गर्न सकियोस्।
