
दाङ — जेन–जी आन्दोलनको एक महिनापछि नेकपा (एमाले) ले दाङ घोराही तुलसीपुर चोकमा आयोजित कोण सभामा पहिलो पटक जेन–जी पुस्ताको तर्फबाट बोल्ने अवसर पाएकी ब्याचलर दोस्रो वर्षकी विद्यार्थी रेजीना चौधरी अहिले सामाजिक सञ्जालमा चासोको केन्द्र बनेकी छन् ।
कार्यक्रमका क्रममा उनले बोलेका केही शब्दहरूमा त्रुटि भएपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल गरिएको हो । भाषणका क्रममा ‘जागरण सभा’ भन्नुपर्नेमा उनले ‘सधारण सभा’ भनेकी थिइन् भने, ‘घोर भत्सर्ना गर्दछु’ भन्नुपर्ने ठाउँमा ‘घोर भ्रष्टाचार गर्दछु’ भन्ने गल्ती भएको थियो ।
पहिलो पटक ठूलो जनसमूह अगाडि बोलेकी रेजीनाले आफूले नियतबस गल्ती नगरेको स्पष्ट पार्दै भनिन्, “पहिलो पटक मञ्चमा बोल्दा निकै हस्तोत्साहित भएकी थिएँ, त्यसैले जिब्रो चिप्लियो । तर मेरो मन्तव्य गलत थिएन ।”
सो घटनापछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको हजम गर्न नसक्ने गरी आलोचना गरे पनि उनले त्यसबाट विचलित नहुने बताइन् । उनका अनुसार आफू पनि जेन–जी पुस्ताकै प्रतिनिधि भएकाले अराजक र असंयमित गतिविधिहरूको सधैं विरोध गर्ने छन् ।
रेजीनाले थपिन्, “मेरो कारणले पार्टी वा नेताको बदनाम होस् भन्ने चाहना कहिल्यै थिएन । यो केवल अनुभवको कमीका कारण भएको हो ।”
उनको यो वक्तव्यपछि धेरैले सामाजिक सञ्जालमा सहानुभूति र हौसला प्रकट गर्दै पहिलो अनुभवमा भएको सानो त्रुटिलाई ठूलो कुरा नबनाउन आग्रह गरेका छन् ।
