
दाङ / घोराही
घोराही उप–महानगरपालिकाका वडा अध्यक्षसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको केही दिनमै जिम्मा-जमानतमा छोडेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर शाहका अनुसार, तिहार पर्वपछि उपस्थित हुने सर्तमा मंगलबार सबैलाई जिम्मा–जमानतमा रिहा गरिएको हो।

तिहारपछि उपस्थित हुने सर्तमा सबैलाई छुटाइएको प्रहरीको भनाइ
प्रहरीले आईतवार राति घोराही–१५, काठेकोहलस्थित होटल टी–थ्री (टी श्री) को कोठा नम्बर १०८ मा छापा मारी ९ जनालाई नगद रु.३ लाख ४५ हजार ९१५ रुपैयाँ र तास (१ गड्डी) सहित नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेहरूमध्ये घोराही–१८ का वडा अध्यक्ष भरतमणी अर्याल पनि रहेका छन्। अर्याल नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन्।
पक्राउ पर्नेमा
भरतमणी अर्याल, वडा अध्यक्ष, घोराही–१८
कृष्णबहादुर घर्ती, घोराही–१८
नारायण प्रसाद अधिकारी, पूर्व इन्सपेक्टर
माधव भण्डारी, मितेरी अस्पताल सञ्चालक
विक्रम के.सी., म्यानपावर सञ्चालक
लंकबहादुर बुढा, घोराही–१८
सागर बुढा, घोराही–१८
प्रवीण रावत, इन्जिनियर, तुलसीपुर–१२
तेज प्रसाद आचार्य, राप्ती गाउँपालिका–२
सोही राति प्रहरीले घोराही–१५, काठेकोहलमा रहेको मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि नियन्त्रणमा लिएको थियो।
उनीहरूबाट रु.६० हजार ६४० रुपैयाँ र जुवामा प्रयोग भएको तास (१ गड्डी) समेत बरामद गरिएको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा
अनुप कशौधन, घोराही–१८
ज्ञानेन्द्र रिजाल, घोराही–१५
एकराज खत्री, घोराही–१५
सोहेलमान मनसुरी, घोराही–१४
दुबै घटनामा प्रहरी निरीक्षक कविराज रोकायको नेतृत्वमा खटिएको टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डिएसपी शाहका अनुसार, “पक्राउ परेकाहरूलाई तिहारपछि उपस्थित हुने सर्तमा जिम्मा–जमानतमा छाडिएको हो। उनीहरूविरुद्ध जुवातास ऐन २०२० अन्तर्गतको प्रक्रिया अघि बढाइनेछ।”
घोराहीमा पछिल्ला दिनमा जुवा–तासका घटना बढ्दै गएपछि स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरूले जनप्रतिनिधि र प्रभावशाली व्यक्ति पक्राउ परे पनि छिट्टै छुट्ने परम्पराले कानुनी निष्पक्षतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।
