
काठमाडौं, ५ कार्तिक ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आयोजित एक कार्यक्रममा भएको भनिएको घटनालाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय युवा संघ नेपाललाई जोडेर भ्रामक तथा गलत प्रचार गरिएको भन्दै संघले आपत्ति जनाएको छ।
राष्ट्रिय युवा संघ नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो घटनासँग संघको कुनै पनि सरोकार नरहेको स्पष्ट पारेको छ। संघका प्रवक्ता निरोज पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “सो घटनामा संलग्न भनिएका व्यक्ति सोनम थिङ राष्ट्रिय युवा संघ नेपालका जिम्मेवार सदस्य होइनन्, र संघले उक्त घटनासँग कुनै सरोकार राख्दैन।”
विज्ञप्तिमा थप भनिएको छ, संघ सधैं लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र जनताको हितमा आधारित गतिविधि सञ्चालन गर्दै आएको छ र कुनै पनि गैरकानुनी वा पार्टीको नीतिविपरीत गतिविधि गर्ने व्यक्तिलाई संगठनले कहिल्यै समर्थन नगर्ने स्पष्ट गरेको छ।
संघले भ्रामक प्रचारमार्फत संगठनको छवि बिगार्ने प्रयास तत्काल रोक्न सबै सञ्चार माध्यम र सरोकारवालालाई आग्रह गरेको छ। साथै, भविष्यमा यस प्रकारको गलत जानकारी प्रवाह गर्नेहरूमाथि आवश्यक कानुनी कारबाही गर्न सकिने चेतावनी पनि दिएको छ।
राष्ट्रिय युवा संघ नेपालले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनहितलाई केन्द्रमा राखेर अघि बढ्ने आफ्नो अडान दोहोर्याउँदै, सोही विरुद्धका कुनै पनि कार्यमा संलग्न हुने व्यक्तिलाई संगठनले समर्थन नगर्ने जनाएको छ।
