
रुकुम पश्चिम। रुकुम पश्चिम जिल्ला आज बिहानैदेखि शोकमा डुबेको छ। बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमाना नजिकै पर्ने झारमारेमा भएको भयानक जिप दुर्घटनामा परी हालसम्म ८ जना यात्रुको मृत्यु भएको छ। घटनामा अन्य ५ जना यात्रु गम्भीर रूपमा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।
खलङ्गाबाट हिँडेको जिप दुर्घटनाग्रस्त
प्रहरीका अनुसार, उक्त दुर्घटना रा १ ज ४२२ नम्बरको जिपमा भएको हो। जिप जिल्ला सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ जाँदै गर्दा अनियन्त्रित भई झारमारे क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार, “हामीले घटनास्थलबाट अहिलेसम्म ८ जनाको शव फेला पारेका छौँ। दुर्घटना निकै भयानक देखिन्छ। ५ जना गम्भीर घाइतेहरूको उद्धार गरी तत्काल स्वास्थ्य संस्थातर्फ पठाउने तयारी भइरहेको छ।”
क्षमताभन्दा बढी यात्रु, चालक पनि गम्भीर
प्रारम्भिक अनुसन्धानले जिपमा सिट क्षमताभन्दा अत्यधिक धेरै यात्रु सवार रहेको देखिएको प्रहरीले जनाएको छ। पहाडी र जोखिमपूर्ण सडकमा क्षमताभन्दा बढी यात्रु हुँदा जिप अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।
दुर्घटनामा जिप चालक टोपजंग बुढा पनि गम्भीर घाइते भएका छन्। घाइते भएका सबैको अहिले पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरुको परिचय खुलिसकेको छैन। परिचय खुल्ने बित्तिकै परिवारजनलाई खबर गरिने प्रहरीले जानकारी दिएको छ।
उद्धारमा स्थानीय र सुरक्षाकर्मी सक्रिय
घटनाको खबर पाउने बित्तिकै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रतिकूल भूगोलका कारण उद्धार कार्यमा केही कठिनाइ आए पनि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्याउने काम भइरहेको छ।
दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान गर्न प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम सुरु गरिसकेको छ।
