
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा आज सरकार विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्ने तयारी भए पनि अन्ततः दुई मन्त्रीले मात्र शपथ ग्रहण गरेका छन्। शपथ लिने मध्ये सुता गौतम र बब्लु गुप्ताले मात्र राष्ट्रपति कार्यालयमा गएर शपथ लिएका हुन्। बाँकी दुई मन्त्रीको शपथ अन्तिम क्षणमा स्थगित गरिएको विशेष स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार बाँकी दुई मन्त्रीका नाम अन्तिम सूचीमा परे पनि उनीहरूविरुद्धका विभिन्न मुद्दा र कानुनी विवादका कारण राष्ट्रपति कार्यालयले शपथको प्रक्रिया अघि बढाउन सकेन। प्रधानमन्त्री कार्यालयले समेत अन्तिम क्षणमा सूची परिमार्जन गरेको बताइएको छ।
आजको मन्त्रिपरिषद् विस्तारसँगै सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बब्लु गुप्तालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। गौतम यसअघि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन्। उनी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धतासहित मन्त्रालयमा प्रवेश गरेकी छन्।
यसअघि स्वास्थ्य मन्त्रीका रूपमा दाङका डा. किशोर खत्रीको नाम निकै चर्चामा थियो। उनी योग्य, अनुभवसंपन्न र दाङका चर्चित चिकित्सक भएकाले उनको नाम प्रमुख दावेदारका रूपमा आएको थियो। तर अन्तिम समयमा पार्टीभित्रको शक्ति सन्तुलन र केन्द्रको राजनीतिक समीकरणका कारण उनको नामबाट स्वास्थ्य मन्त्रालय अर्कै नेतातर्फ सरेको बताइन्छ।
राजनीतिक वृत्तमा अहिले यही विषयले चर्चा पाएको छ—“कसरी मन्त्री बन्ने तयारीमा रहेका नाम अन्तिम समयमा हटाइए र कसरी नयाँ नाम जोडियो ?” शपथको अन्तिम तयारीसम्म पुगेका दुई नेताले विभिन्न कानुनी कारण देखाएर अन्ततः पद ग्रहण गर्न नपाएको स्रोतले बताएको छ।
मन्त्रिपरिषद् विस्तारपछि अब सरकारमा मन्त्रीहरूको संख्या बढेको छ तर दुई मन्त्रालय अहिले पनि अस्थायी रूपमा प्रधानमन्त्रीकै जिम्मामा रहेका छन्। सरकारले छिट्टै बाँकी मन्त्रालयहरूमा पनि मन्त्री नियुक्त गर्ने संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार आजको शपथ ग्रहण “सरकारभित्रको शक्ति समीकरण र कानुनी विवादको सानो झल्को” हो। प्रधानमन्त्रीको आगामी कदमले मात्र यो विस्तारले स्थायित्व पाउने कि फेरि फेरबदल हुने भन्ने स्पष्ट हुनेछ।
