
काठमाडौं । लोकप्रिय गायिका एलिना चौहान फेरि एकपटक विवादको केन्द्रमा आएकी छन्। अमेरिकामा आयोजना भएको एक सांगीतिक कार्यक्रममा आयोजकले आफूलाई “नोकरझैँ व्यवहार गरेको” भन्दै उनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।
तर, यो विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा एलिनाकै दोहोरो चरित्र बारे व्यापक बहस सुरु भएको छ। कारण — यही एलिनाले केही समयअघि गायिका कला लम्साललाई जबरजस्ती नेपाल फर्काउँदा आयोजकको बचाउ गरेकी थिइन्।
त्यतिबेला उनले आयोजकलाई निर्दोष ठहर्याउँदै, कला लम्साले नै गलत व्यवहार गरेको बताएकी थिइन्। तर अहिले जब एलिनाले आफैं आयोजकप्रति असन्तुष्टि प्रकट गरिन्, धेरैले उनलाई “आफ्नै कुरा उल्ट्याउने कलाकार” भन्दै व्यङ्ग्य गरिरहेका छन्।
आलोचकहरूले सामाजिक सञ्जालमा लेखेका छन्, “जब आफूलाई चोट लाग्छ, तब मात्र पीडाको अनुभव हुन्छ भन्ने एलिनाको व्यवहारले उनको वास्तविक चरित्र देखाएको छ।”
एलिना चौहान नेपालमा पनि चर्चा र विवादमा रहन रुचाउने गायिकाको रुपमा परिचित छिन्। कहिले गीतका शब्द, कहिले सामाजिक सञ्जालका अभिव्यक्ति — उनी प्रायः हरेक पटक कुनै न कुनै विवादमा तानिन्छिन्।
तर, यो पटक उनले आलोचकहरूलाई चेतावनी नै दिएकी छन्। आफ्नो फेसबुकमार्फत उनले लेखेकी छिन् —
“घाइते बाघ हुँ, ओराली लागेको हरिण होइन। खेदाउन खोज्यौ भने जोखिम तिम्रै हो, सम्झी राख।”
एलिनाले थप लेखेकी छिन्,
“मलाई बोल्ने हक सबैलाई छ, तर सत्य बुझ्नुअघि नलेख्नू। कलाकार पनि मान्छे हो, म चुप बसेको मानवीयताको कारण हो।”
उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दुई धारको प्रतिक्रिया देखिएको छ — केहीले उनलाई आत्मसम्मानका लागि बोल्ने साहसी कलाकार भनेका छन् भने अरूले उनलाई “फण्डा र विवादबाट चर्चामा आउन खोज्ने कलाकार” भनेर आलोचना गरेका छन्।
एलिनाको यो भनाइ र व्यवहार अहिले नेपाली संगीत क्षेत्रमा चर्को बहसको विषय बनेको छ।
